‘स्वास्थ्य सेवा सस्तो, सर्वसुलभ र गुणस्तरीय बनाउने अभियानमा सरकार’
वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संविधानमा लेखिएको आधारभूत स्वास्थ्य सेवा, सस्तो, सर्वसुलभ र गुणस्तरीय बनाउने अभियानमा सरकार जुटेको बताउनुभएको छ ।
वीरगञ्जको नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच विस्तारित क्यान्सर उपचार सेवाको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले सरकारले नारायणी अस्पतालमा आजबाट ५ शैयाको क्यान्सर उपचार सेवा प्रारम्भ गरेको बताउनुभयो ।

मन्त्री पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सरको शल्यक्रिया समेतको उपचार सेवासहित अङ्ग प्रत्यारोपणको उपचार सेवा र मुटुको शल्यक्रिया उपचार सेवालाई समेत विस्तार गरिने बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालमा सेवा राम्रो हुँदैन, चुहावट हुन्छ भन्ने जनगुनासो छ भन्नुहुँदै आफू निर्देशन दिन नभई काम गर्न आग्रह गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यका साथ वीरगञ्ज आएको बताउनुभयो ।
उहाँले जनतालाई बढी भन्दा बढी सेवा प्रवाह गर्न सरकारले ठोस कार्य योजना ल्याएको बताउँदै देशभरका अस्पतालहरूमा शनिवार समेत ओपिडीसहित सम्पूर्ण सेवा सञ्चालन गर्ने कार्य शुरु भइसकेको बताउनुभयो ।
उहाँले अहिले अस्पतालहरू दुई सिफ्टमा सेवा प्रवाहलाई अगाडी बढाइएको बताउँदै यसबाट सेवाग्राही लाभान्वित हुने दाबी गर्नुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्न उपचार सेवामा १ लाखको नभइ ५ लाखको बिमा गर्ने व्यवस्थामा स्वास्थ्य मन्त्रालय जुटिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेलले नारायणी अस्पतालको नयाँ भवन निर्माण हुन नसक्दा समस्या भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एमानुल हकबिच नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सञ्चालन गर्ने सम्बन्धमा भएको सम्झौतामा हस्ताक्षर भएको थियो ।
अब नारायणी अस्पतालबाट क्यान्सरको स्क्रिनिङ्ग, फलो अप, डाइनोसिस लगायतका सेवा सञ्चालन हुने र किमोथेरोपि लगायतका सेवा अगामी दिनमा विस्तार गरिने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्