पूर्वाधार समितिद्वारा अरनिको लोकमार्गको अनुगमन
सिन्धुपाल्चोक । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले अरनिको लोकमार्ग अन्तरगत विभिन्न भागको आइतबार अनुगमन गरेको छ ।

काठमाडौँदेखि चीनसँगको सिमानाका लिपिङसम्म पुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सांसदले सडकका विभिन्न खण्डको स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक र जीर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाई लिखित निर्देशन दिने भएको छ ।

समितिका सदस्यहरुले लोकमार्ग अन्तरगत काभ्रेपलान्चोकको ‘धुलिखेल खावा’ खण्ड, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने कोठे पहिरो क्षेत्र, खाडीचौरमा मुआब्जा विवादले रोकिएको पक्की पुल निर्माणको काम, जुरे पहिरो खण्ड, बाह्रबिसेको खाग दल, भोटेकोशीको डाकलाङ, दश किलो, कोदारी र लिपिङ क्षेत्रको अनुगमन गरेको हो । समिति सदस्यहरुले नेपाल चीन सीमा नाकासम्म पुगेर सडक, अध्यागमन, भन्सार संरचनाको अवस्था पनि अवलोकन गर्नुभयो ।
समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माधव सापकोटाको प्रस्तावमा अनुगमनको कार्यक्रम तय भएको समितिले जनाएको छ । अनुगमन कार्यक्रमका संयोजक शङ्कर भण्डारीले संसद् र समितिमा लोकमार्गका कठिनाइबारे पटक पटक विषय उठान भएपछि सापकोटाको प्रस्तावमा कार्यक्रम तय भएको बताउनुभयो ।
सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सडक विभागका प्रमुख तथा प्रतिनिधि, प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा समितिले अनुगमन र छलफल गरेको हो ।
सडक अनुगमनपछि साँझ तातोपानी भन्सार कार्यालयमा भएको अन्तरक्रियामा समिति सदस्य सापकोटाले राष्ट्रिय महत्वको लोकमार्गको दुरावस्था र यसको स्तरोन्नतिको विषयमा संसद् र समितिमा विषय उठान गरेको स्मरण यो विषयलाई प्राथमिकता दिएर अनुगमनमा आएका सदस्यहरूलाई धन्यवाद दिनुभयो । सांसद सापकोटाले यस बर्ष जुरे तातोपानी खण्ड स्तरोन्नतिका लागि १ अर्ब २३ करोड विनियोजन भएकोले सो बजेटको सही सदुपयोग गर्न अनुगमनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अनुगमन संयोजक भण्डारीले तातोपानी देशको महत्वपूर्ण नाका भएको बताउँदै सीमासम्म पुग्ने लोकमार्गको स्तरोन्नतिका लागि समितिमा गम्भीर छलफल गरी सम्बद्ध पक्षलाई लिखित निर्देशन दिने बताउनुभयो । समिति सदस्य बिना लामाले अरनिको लोकमार्गको विभिन्न स्थानको अवस्था निकै कष्टप्रद पाइएको बताउनुभयो ।
अनुगमनमा समिति सदस्यहरु माधव सापकोटा, ठाकुर गैरे, शङ्कर भण्डारी, बिना लामा, कल्पना चौधरी, दयालबहादुर शाही, मैना कार्की, लालवीर चौधरी, प्रतिमा गौतम र सुशीला श्रेष्ठ सहभागी थिए । यस्तै अनुगमनमा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, आयोजनाका निर्माण पक्ष, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्