मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–पोखरा सडकको पुर्वी खण्डमा अहिले केही सहज भएको तर पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएको जनगुनासो आएकोले त्यसलाई विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो । आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवाला बिचको छलफलमा मुख्यमन्त्री पाण्डेले निर्माणको क्रममा कुनै समस्या भए आफूहरूले सहजीकरण गर्ने बताउँदै पर्यटनको सिजनमा कम्तीमा सवारी साधनहरू आगमनमा कुनै बाधा अवरोध नगर्न सुझाव दिनुभयो ।
अहिले पुर्वी खण्डमा ६५ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको निर्माण कम्पनीहरूले जनाएका छन् । सरोकारवालाको छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक/फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो । सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरू विद्युत् प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने निर्णय बैठकले गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्