तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरेको छ ।
विधेयकमाथिको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुसार सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक आवश्यक भएको बताउनुभयो ।
उहाँले निजामती विधेयक आउन ढिला भइसकेको भन्दै यसलाई समितिमा र उच्चस्तरीय राजनीति नेतृत्वसँग छलफल गरेर टुङ्गोमा पुर्‍याउन आफूले पहल गर्ने बताउनुभयो ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले ऐन समयमा आउन नसक्दा कर्मचारी तथा जनशक्ति व्यवस्थापन हुन नसकिरहेको र यसले सेवा प्रवाहमा असर परिरहेको बताउनुभयो ।
उहाँले प्रशासनिक संरचना कस्तो बनाउने र प्रशासनिक सङ्घीयता कसरी बलियो बनाउने भन्ने विषयमा सबै स्पष्ट हुनुपर्ने पनि बताउनुभयो ।
छलफलमा सांसदहरुले सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक समयमा आउन नसक्दा सेवा प्रवाहमा असर परिरहेको भन्दै देश र जनता हितलाई हेरेर छिटो विधेयक पास गर्ने गरी छलफल अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक २०८० फागुन २१ मा संघीय संसदमा दर्ता भएको थियो ।  विधेयकमा १ सय २४ समूहमा सांसदहरुले १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
यसअघि, २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button