तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पाण्डेद्वारा नवनिर्मित बसपार्कको उद्घाटन 

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित बागलुङ बसपार्कको उद्घाटन गर्नुभएको छ ।
बागलुङ नगरपालिका ४ उपल्लाचौरको दाबगरामा तीन वर्षअघि निर्माण सम्पन्न भएको उक्त सुविधा सम्पन्न बसपार्कको मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्नुभएको हो । २३ वर्षपछि बागलुङवासीको सपना पुरा भएको भन्दै खुसीयालीमा स्थानीयहरूले विभिन्न झाँकी तथा नृत्य प्रदर्शन समेत गरेका थिए ।
बसपार्कको उद्घाटनपछि बोल्दै मुख्य मन्त्री पाण्डेले बसपार्कको दीर्घकालीन सञ्चालनका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बागलुङको बसपार्क देशकै नमुना भएकाले यसको समग्र विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सत्ता गठबन्धनले देशमा राजनैतिक स्थिरता आउने विश्वास गर्नुभयो । मुख्यमन्त्री पाण्डेले जनतालाई सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचारलाई शुन्यमा झार्नका लागि प्रयत्नशील रहेको बताउनुभयो ।
नवनियुक्त स्वास्थ्य मन्त्री कृष्ण पाठकले बसपार्कले बागलुङवासीको भविष्य पनि निर्धारण गर्ने भएकाले यसको निरन्तरतामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अन्टाटिकामा नेपालको तर्फबाट पहिलो पटक पाइला राख्ने बानपा १४ निवासी भुवनसिंह विश्वकर्मा, जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी र धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जग्गादाता, पहिलो पटक अन्टाटिकामा पुग्ने भुवनसिंह विश्वकर्मा लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button