दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनमा उत्कृष्ट १० टिम छनौट
पोखरा । पोखरामा भइरहेको इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल ब्यान्डहरू छनौट भएका छन् ।
पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाइनल राउण्डमा १० वटा स्कुल ब्यान्डहरू छनौट भएका हुन् ।
प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोबल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनौट भएको पोखरा साङ्गीतिक कलाकार संघका सचिव भास्कर ध्वज श्रेष्ठले बताउनुभयो । शुक्रबार भएको सेमिफाइनल राउन्डबाट सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमन्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रगति सेकेण्डरी स्कुल, कान्तिपुर एकेडेमी, पोखरा एकेडेमी, बाल विद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल बाहिरिएका छन् ।
प्रतियोगिताको फाइनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाइनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने भएको छ । शुक्रबार भएको प्रतिस्पर्धामा प्रतिस्पर्धी स्कुल ब्यान्डहरूले गण्डकी प्रदेशका सर्जकहरूको गीत गुन्जाउँदा दर्शकको हुटिङ पाएका थिए ।
शनिबार हुने फाइनल प्रतिस्पर्धामा प्रतिस्पर्धी स्कुल ब्यान्डहरूले २/२ वटा गीत प्रस्तुत गर्नेछन् । शनिवारको उपाधि भिडन्तमा स्कुल ब्यान्डहरूले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) गुरुङले बताउनुभयो । सोही प्रस्तुतिका आधारमा विजेता, उपविजेता लगायतको घोषणा गरिने भएको छ । ‘शिक्षासँगै सङ्गीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपविजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटार, उत्कृष्ट ड्रमर, पब्लिक च्वाईस र जज च्वाईस लाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्