तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित १७ देशका राजदूतहरूको सुनुवाई भदौ १४ गतेबाट 

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाई समितिले विभिन्न १७ देशमा प्रस्तावित राजदूतहरूको भदौ १४ गते शुक्रबारदेखि उजुरी कर्तासँग छलफल र सुनुवाई गर्ने निर्णय गरेको छ ।  

समितिको आज बसेको बैठकमा प्रस्तावित १७ जना राजदूतविरुद्ध प्राप्त उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लगि वितरण गरिएको छ । 

विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध संसदीय सुनुवाई समितिमा  ९ वटा उजुरी परेको छ ।

बैठकमा समितिका सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १४ गते उजुरी कर्ताहरूसँग छलफल गरेर १६ गतेदेखि विभिन्न १७ देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिस भएकाहरूसँग सुनुवाई गर्ने कार्यतालिका पारित भएको बताउनुभयो ।   

समितिले भदौ १४, १६, १७, १८, १९, २०, २४ र २५ गते विभिन्न १७ देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिस भएकाहरूसँग सुनुवाई गर्ने र यही विचमा राजदूत नियुक्तिका विषयमा उठेको समानुपातिक प्रतिनिधित्वका विषयमा परराष्ट्र मन्त्रीसँग छलफल समेत गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

समिति आजको बैठकमा सांसदहरूले राजदूत सिफारिस समानुपातिक नभएको भन्दै असन्तुष्टि जनाउँदै दलित, मधेसी, थारु जस्ता समुदायलाई राजदूत नियुक्ति गर्दा नसमेटिएको विषयमा प्रश्न गर्नुभयो ।

सांसदहरुले संविधानमै लेखिएको र यसअघि पनि समावेशी बनाउने विषयमा परराष्ट्रमन्त्री सँगको छलफल र समावेशी बनाउने विषयमा मन्त्रीबाट भएको प्रतिबद्धता पुरा हुन नसकेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । 

गत साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । 

सरकारले भारतका लागि डा. शङ्कर शर्मा, चिनका लागि प्राध्यापक डाक्टर कृष्णप्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोक दर्शन रेग्मी, चन्द्रकुमार घिमिरे संयुक्त अधिराज्य, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरिया, प्राध्यापक धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का र रीता धिताललाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

यसैगरी, सरकारले नरेशविक्रम ढकाल साउदी अरेबिया, प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, सनिल नेपाल स्पेन, डाक्टर शैल रुपाखेती जर्मनी, जङ्गबहादुर चौहान रुसी महासङ्घ, रमेशचन्द्र पौडेल कतार, सुम्निमा तुलाधर डेनमार्क, डा नेत्रप्रसाद तिमिल्सिना मलेसिया र प्रकाशमणि पोखरेललाई पोर्चुगलका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button