तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट: बाबाधाम गएको बस दुर्घटना, ४५ घाइते, सबै यात्री खतरामुक्त

वीरगंज । बाराबाट भारतको बाबाधाम गएको तिर्थयात्रीहरु सबार बस भारत बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४५ जना तिर्थ यात्री घाइते भएका छन् ।

भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ मूर्तिपलियाका ४५ जना यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एव डिएसपी प्रकाश सापकोटाले बताउनु भयो । 

बसमा ४७ तीर्थयात्री रहेकोमा ३५ जना सामान्य घाइते तथा १० जना मध्यम घाइते भएको सूचना भारतको समस्तीपुर प्रहरीबाट प्राप्त भएको  डिएसपी सापकोटाले बताउनु भयो । 

दुर्घटनामा देवनारायण पण्डित, सुबोध साह तेली र नौ वर्षीया एकलाई बढी चोट लागेको भए पनि खतरा मुक्त रहेको जानकारी भारतीय प्रहरीले दिएको डिएसपी सापकोटाले बताउनु भयो ।

ना ७ ख ६४४६ नम्बरको देव दर्शनको सो बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो । सबै तीर्थयात्री बिहारको देवघर अर्थात् बाबाधाम तीर्थाटनका लागि गएका थिए । 

प्रहरी नायव उपरीक्षक सापकोटाले बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका वडा नम्बर ३ मूर्तिपलियाका  रहेको बताउनुभयो । 

घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य नीजि क्लिनिकमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे बीरगंज नाका हुँदै भारत प्रस्थान गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button