तपाईँ सुन्दै हुनुहुन्छः

‘खेलाडीका सन्तानलाई विशेष सुविधा दिने अन्तिम गृहकार्यमा सरकार’

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीका सन्तानको निःशुल्क उपचार, शिक्षा, रोजगारी र बीमाको व्यवस्था गर्न सरकारले अन्तिम गृहकार्य गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले खेलाडीको विदेश पलायन रोक्न सरकार छिट्टै यी कार्यक्रम लागू गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले तत्काललाई अन्तर्राष्ट्रिय खेलाडीलाई यी सुविधा दिइने बताउनुभयो ।

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी लिएर फर्किनुभएका चौधरीले प्रतियोगितामा ३६ खेलहरू खेलाइने भए पनि बढीमा २४ खेल मात्र सुर्खेतमा सम्भव देखिएकाले बाँकी खेल नेपालगन्ज र कोहलपुरमा खेलाउने विषयमा छलफल र अवलोकन गर्न आफू नेपालगन्ज आएको बताउनुभयो । मन्त्री चौधरीले खेलाडीको बसाइँ व्यवस्थापन समेत सुर्खेतमा गाह्रो देखिएकाले नेपालगन्ज र कोहलपुरमा पनि व्यवस्थापन गर्ने विषयमा छलफल गरिने बताउनुभयो । उहाँले पूर्वाधार तयारी नसकिए प्रतियोगिताको मिति सर्ने सङ्केत गर्नुभयो । तर, यथासम्भव निर्धारित मितिमै प्रतियोगिता गर्ने गरी तयारीमा जुटेको स्पष्ट पार्नुभयो । 

पत्रकार सम्मेलन जिल्ला अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको पनि उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button