दसैँसम्ममा देशका प्रमुख राजमार्गहरूका खाल्डाखुल्डी पुर्ने तथा मर्मतको काम सम्पन्न हुने
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँसम्ममा देशका प्रमुख राजमार्गहरूका खाल्डाखुल्डी पुर्ने तथा मर्मतको काम सम्पन्न हुने जनाएको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यस वर्षको दशैँ सुरु हुनु अगाडि नै निर्माणाधीन अवस्थामा रहेका बाहेक अन्य राजमार्गहरुकोे पटके मर्मतको काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान भइसकेको जनाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्यभार सम्हालेको १ महिना पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले विशेष अवस्थामा बाहेक बाढी पहिरो वा अन्य कुनै कारणबाट अवरुद्ध राजमार्गहरू २ घण्टाभित्र खुलाई सक्ने गरी आवश्यक उपकरण र जनशक्ति सधैँ तयारी अवस्थामा रहने व्यवस्था मिलाएको जनाएको छ ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले आफ्नो १ महिने कार्यकालमा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेस भएको बताउनुभयो ।
यस अवधिमा सम्पन्न भएका कामहरू समेटेर मन्त्रालयले जारी गरेको २३ बुँदे प्रगति विवरणमा विभिन्न आयोजनाका रुग्ण ठेक्काहरूको अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव अर्जुन प्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरेको, सवारी चालक अनुमति पत्र लाइसेन्स लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी राष्ट्रिय परिचय पत्रमार्फत लाइसेन्सको विद्युतीयप्रति हेर्न सकिने व्यवस्था मिलाएको, सवारी चालक अनुमति पत्रका लागि राजश्व तिर्दा फोटो र क्युआर कोर्डसहितको रसिद दिने र अनुमति पत्रको छपाई नहुँदा सम्म सोही रसिदको क्युआर कोर्ड मार्फत सबै विरणहरु हेर्न मिल्ने व्यवस्था गरेको लगायतका प्रगति विवरणहरू समेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्