नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवा देशका ७७ वटै जिल्लामा
काठमाडौँ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवा शुभारम्भ भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै हुम्लासहित देशका ७७ वटै जिल्लामा फाइबर टु द होम (FTTH) सेवा पुगेको जानकारी दिनुभयो ।
मन्त्री सुब्बाले हुम्ला जिल्लामा यो सेवा शुभारम्भ भएसँगै एक सय दिनमा सरकारले प्राथमिकतामा राखेका महत्वपूर्ण पाँच वटा कामहरूमध्ये पहिलो काम पुरा भएको पनि जानकारी दिनुभयो ।
मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सके यसले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने भन्दै टेलिकमको फाइबर टु द होम (FTTH) सेवा विस्तारले मुलुकले लिएको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष राधिका अर्यालले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न अबका दिनमा प्रविधिसँगै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले, यसका लागि दूर सञ्चार सेवा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल टेलिकमले व्यापार व्यवसाय मात्रै नभएर सरकारप्रतिको उत्तरदायित्व वहन गरेर सेवा विस्तार गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले अहिले फाइबर टु द होम (FTTH) सेवा पुर्याइएको हुम्ला जिल्लामा आगामी दिनमा मुलुकका अन्य भागमा जस्तै प्रभावकारी रुपमा इन्टरनेट प्रयोग गर्न सकिने बतउनुभयो ।
नेपाल टेलिकम आम नागरिकमा सहज सेवा पुर्याउन प्रतिबद्ध रहेको भन्दै प्रबन्ध निर्देशक पहाडीले मुलुकका सबै जिल्लामा शुरु भएका सेवा आगामी दिनमा थप प्रभावकारी बनाएर अगाडी बढाइने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्