मुठीदानद्वारा सञ्चालित गुरुकुल
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनीधाममा सञ्चालनमा रहेको महाकाली शारदा विद्यापीठ वेद विद्याश्रम सञ्चालनका लागि आर्थिक अभाव भएको छ ।
वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवापुर्याउन आवासीय गुरुकुल सञ्चालन गरिएको गरिए पनि गुरुकुलले आर्थिक अभाव झेल्दै आएको छ । गुरुकुलमा २०७७ सालदेखि कक्षा छदेखि पठनपाठन भइरहेको गुरुकुलका अध्यक्ष मोहनचन्द्र जोशीले जानकारी दिनुभयो । “गुरुकुलीय शिक्षा पद्धतिमा आधारित भएर विद्यार्थीको नैतिक, चारित्रिक, धार्मिक, बौद्धिक विकास गर्नेलगायत कार्यक्रम सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो, “विद्यार्थीलाई स्वावलम्बी र आत्मअनुशासित बनाउने उद्देश्य छ तर आर्थिक अभावले सञ्चालनमा कठिनाइ आएको छ ।” उहाँका अनुसार निःशुल्क आवासीय व्यवस्थासहित १५ जना विद्यार्थी उक्त गुरुकुलमा अध्ययन गर्दै आएका छन् ।
“गुरुकुलमा पठनपाठन गर्न भौतिक संरचनाको अभाव छ,” जोशीले भन्नुभयो, “अहिले दाताको सहयोग र मुठी दानको भरमा गुरुकुल सञ्चालन गर्नुपरेको छ ।” नगरपालिकाबाट वार्षिक रुपमा रु पाँच लाख प्राप्त हुने भए पनि उक्त बजेटमा चारजना शिक्षक र अन्य खर्च व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ । “हाम्रो उद्देश्य ३०/४० जना विद्यार्थी राख्ने हो तर भौतिक पूर्वाधारको अभाव छ ।” उहाँले भन्नुभयो, “प्रदेश सरकारले निर्माण गर्न लागेको आठकोठे भवन पनि अधुरै छ । पाठ्यक्रमअनुसार नेपाली, अङ्ग्रेजी, गणित, कर्मकाण्ड, संस्कृत व्याकरण, नीतिशास्त्र र संस्कृत संरचनालगायत विषय पठनपाठन भइरहेका छन् ।
गुरुकुलमा प्रधानाध्यापक माधव जोशीले मुठीदानबाट गुरुकुल सञ्चालन भइरहेको बताउनुभयो । “अहिले चारजना गुरुहरूलाई तलब खुवाउन समेत समस्या भइरहेको छ,” उहाँले भन्नुभयो, “केही दाताले सहयोग गरेका छन् दाताकै भरमा गुरुकुल सञ्चालन गरिराखेका छौँ ।” उहाँले गुरुकुल सञ्चालनका लागि छुट्टै भवन धाम क्षेत्रकै आश्रममा पठनपाठन हुँदै आएको बताउनुभयो । कञ्चनपुरको चुरे फेदमा रहेको भम्केनी धाम जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकसित हुँदै गएको छ । भम्केनी धामलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न अष्ट धातुबाट ७५ मिटर लामो मूर्ति निर्माण भइरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्