सरकार कानुन संशोधन गर्ने तयारीमा जुटेको छ : मन्त्री चौरसिया
वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउँदै जनभरोसालाई मजबुत गर्न सरकार कानुन संशोधन गर्ने तयारीमा जुटेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पर्साद्वारा आज वीरगञ्जमा मन्त्री चौरसियाको सम्मानमा आयोजित कार्यक्रममा उहाँले कानुन संशोधन मार्फत निर्वाचन प्रणालीको सुधार गर्नु अति आवश्यक देखिएको दाबी गर्नुभयो ।
उहाँले दलित, जनजाति, महिलाहरूको राज्यका विभिन्न निकायमा अधिकतम सहभागिताका लागि सरकारले के गर्न सक्छ त्यो गर्ने बताउँदै संघीय, प्रदेश र स्थानीय सरकारमा भइरहेका विकृति विसङ्गतिको अन्त्यका लागि पनि कानुन संशोधन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री चौरसियाले १८ वर्षपछि द्वन्द पीडितहरूको न्यायका लागि कानुन बनाएर समस्या समाधान गर्ने विषयमा सहमति भएको जानकारी दिनुहुँदै कानुन बनाउने र जनतालाई न्याय दिने जिम्मेवारीमा कानुन मन्त्रालय रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले कानुनी जटिलताका कारण जनचाहना बमोजिम प्रदेश सरकारले काम गर्न नसकेकोमा दुखेसो व्यक्त गर्दै प्रदेशका कानुनी जटिलताका बारेमा समेत सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्