प्रतिनिधि सभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यस्तै आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदनमा पेश भएको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेश गर्नुभयो ।
यसअघि, आजको बैठकमा सांसदहरुले देशको अर्थतन्त्र, संविधान संशोधन, ट्रकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ ।
सांसद महतले खुकुलो मौद्रिक नीति र कांग्रेस–एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिनमा बढ्दै जाने देखिएको बताउनुभयो ।
नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले संविधान संशोधनको विषयलाई प्रतिगमन देख्न नहुने भन्दै संविधानले उल्लेख गरेको समाजवादको लक्ष्य हासिल गर्न कानुन निर्माण र सुधार गरेर अगाडी बढ्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले कांग्रेस र एमालेले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली लागु गर्ने, सङ्घीयतामा संशोधन गरेर स्थानीय तह घटाउने, प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढाउन खोजेको आरोप लगाउनुभयो ।
बैठकमा सांसदहरुले डेडिकेटेड लाइन र ट्रकलाइन सम्बन्धी विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउँदै विद्युतको लाइनमा नियमले तोकिए अनुसारको बक्यौता असुल गर्न आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरु मनिष झा, रोशन कार्की, मेटमणि चौधरी, सुशीला श्रेष्ठ, रेखा यादव, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २९ गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्