व्यावसायिक बन्दै मुक्तकमलरी
कैलाली । जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरूको घरमा कमलरी बस्नुपर्यो ।
विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गर्नुभएकी रीताले पढाइलाई निरन्तरता दिन कमलरी बस्नुभएको थियो । तर उहाँको पढ्ने सपना पूरा भएन । कमलरी बसेपछि उहाँले पढाइ छाड्नुपर्यो ।
“घरको आर्थिक अवस्था कमजोर थियो । घरमा कामसँगै पढाउने भनेपछि एकजनाको घरमा कमलरी बसेँ”, उहाँले भन्नुभयो, “कमलरी बसेपछि पढ्ने सपना पूरा भएन । अरुकै घरमा काम गरेर समय बित्यो ।” कमलरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुग्नुभएकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सक्नुभएन । कक्षा ७ उत्तीर्ण गर्नुभएकी उहाँले आर्थिक अवस्थाकै कारण पढ्न सक्नुभएन ।
त्यसपछिका एक दशक अरुकै घरमा ज्याला मजदुरी गरेर जीविका चलाउनुभएकी रीता यतिबेला व्यावसायिक बन्ने प्रयत्नमा हुनुहुन्छ । गाउँकै साथी मुक्तकम्लरी सरस्वती थारुसँग मिलेर यही साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गर्नुभएको छ । नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा १० दिने खाजा नास्तासम्बन्धी तालिम लिनुभएका रीता र सरस्वतीले गाउँमै खाजा पसल सञ्चालन गर्नुभएको हो ।
ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँहरूले खाजा पसल सञ्चालन गरेपछि अरूकामा काम गर्नुपर्ने बाध्यता हटेको छ । त्यतिमात्र होइन आफ्नो मेहनतले कमाएको थोरै पैसा पनि ठूलो लाग्ने सरस्वती बताउनुहुन्छ । “दिनभर अरूकामा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो । दश दिनको तालिमले व्यवसायी बनायो”, उहाँले भन्नुभयो, “अब यसैमा मेहनत गरेर सिकेको सीपलाई व्यावसायिक बनाउने सोचाइ छ ।”
संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला र मुक्तकम्लरीलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो । तालिमसँगै रु २५ हजार बराबरको भाँडाकुँडा पनि सहयोग गरेको छ । भजनी नगरपालिका–४ खैलाडकी मुक्तकम्लरी निलम चौधरीले पनि यही साउन ९ गतेबाट खाजा पसल सुरु गर्नुभएको छ । घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपटेलगायत परिकार बनाएर बिक्री गर्नुहुन्छ । “घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालिमले व्यावसायिक बनायो”, उहाँले भन्नुभयो, “अब यही व्यवसायलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने आशा गरेकी छु ।”
उक्त तालिम लिएका ३२ जना मुक्तकम्लरीले व्यवसाय सुरु गरेका छन् । टीकापुर शिवनगर शिविरमा बस्दै आउनुभएकी पुष्पा थारूको समस्या पनि रीता र सरस्वतीको भन्दा फरक छैन । घरको आर्थिक अवस्थाले कमलरी बस्नुपरेको बाध्यता छिचोल्दै आउनुभएकी पुष्पाले विगत एक वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आउनुभएको छ । अरूले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आउनुभएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउनुहुन्छ । “सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने लागेको छ । पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु”, पुष्पाले भन्नुभयो, “कामको सिलसिलामा भारत गएका श्रीमान्लाई बोलाएर यही पेसामा लगाउने सोच छ ।”
टीकापुरकै सङ्गीताले पहिलेदेखि किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । उहाँका श्रीमान्ले फ्रेसहाउस सञ्चालन गर्नुभएको छ । मुक्तकम्लरी सङ्गीताले खाजा बनाउने तालिम लिएपछि किरानासँगै खाजा पसल थप गर्नुभएको छ । व्यावसायिक रूपमा आफू परिपक्व भएको सङ्गीताको भनाइ छ । “हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थियौँ”, सङ्गीताले भन्नुभयो, “घरायसी देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ ।”
कैलारी गाउँपालिका हसुलियाकी निर्मला चौधरी दुई वर्ष कमलरी बस्नुभयो । पढ्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कमलरी बस्नुभएकी निर्मला ७ कक्षाभन्दा माथि पढ्न नसकेकामा दुःख व्यक्त गर्नुहुन्छ । अहिले उहाँ रेस्टुरेन्ट सञ्चालनको तयारीमा हुनुहुन्छ ।
सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेको थियो । विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिम लिएरै आजसम्म छ सयभन्दा बढी कमलरी आत्मनिर्भर भएका छन् । कैलालीमा चार हजार ७४ जना पूर्व मुक्तकम्लरी छन् । त्यसमध्ये दुई हजार पाँच सयसँग मात्रै कमलरी परिचयपत्र छ । बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाएकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको मुक्तकम्लरीहरू बताउँछन् ।
“राज्यले मुक्तकम्लरीको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौँ पूर्वकम्लरीले दुःख पाइरहेको अवस्था छ । सङ्घसंस्थाको सहयोग र समन्वयमा केही मुक्तकम्लरी आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्”, मुक्तकम्लरी विकास मञ्च कैलालीकी अध्यक्ष बिन्द्रा चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले मुक्तकम्लरीको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुनसकेको छैन ।” आर्थिक अभावकै कारण मुक्त कमलरीले पढाइ छाड्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्