तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा शुभकामना आदानप्रदान पश्चात् द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका मुद्दामा छलफल भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो ।   

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात् नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान तथा  संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भहरू हुन् ।’ 

उहाँले नेपालको विकास पथमा मित्र राष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताउनु भयो । ‘नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्विस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका लागि म स्विस सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।’

उहाँले बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरूमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयहरूमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताउनु भयो । ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले तदाअनुसार तयारी गरिरहेको छ ’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी विकास साझेदारहरूबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौँ ।’

भेटमा स्वीट्जरल्याण्डका मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असल मित्र भएको जनाउँदै स्विस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै सङ्घीयतालाई सबल र सुदृढ बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाउनु भयो । उहाँले स्विस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्‍याउने चाहना समेत व्यक्त गर्नुभएको प्रेस संयोजक यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button