‘कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन’
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित ‘संविधान संशोधन : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उहाँले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सोअनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ्ने धारणा राख्नुभयो ।
डा कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत्, नागरिक समाज लगायत सबैले खबरदारी गरिरहनुपर्नेमा समेत जोड दिनुभयो ।
त्यसैगरी उहाँले १० वर्षमा संविधानमा पुनरावलोकन गर्ने कुरा संविधानमै उल्लेख भएकाले पनि दुई दलले यसलाई निष्कर्षमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो । संविधान संशोधनका विषयमा बहस चलाउनु सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै नेता डा कोइरालाले यस विषयमा सबै तहमा छलफल चलाउन आवश्यक रहेको धारणा राख्नुभयो । संसद्मा रहेका सबै राजनीतिक दलले बृहत् समझदारी गरेर संविधान संशोधन गरिनुपर्ने उहाँको विचार छ ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दुई ठूला दल मिल्दा संविधान संशोधन लगायत महत्वपूर्ण काम गरेर देखाउनुपर्ने र सरकारले गलत काम गर्नसक्ने तर्फ बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरताका लागि असल राजनीतिक संस्कार पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरे पनि विभिन्न कानुनमा भएका प्रतिबन्धात्मक व्यवस्थाले कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । संविधानमा मात्र नभई सत्तामा बस्नेको मानसिकता र प्रवृत्तिमा पनि संशोधन हुनुपर्ने उहाँको भनाइ थियो ।
युनियनका सल्लाहकार एवं पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले राजनीतिक क्षेत्रबाट निर्वाचन प्रणाली, न्यायिक क्षेत्रबाट न्याय परिषद् र संवैधानिक परिषद्सम्बन्धी व्यवस्था संशोधनको माग भइरहेकाले प्रेस जगतले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सञ्चार एवं सूचनाको हकका व्यवस्था सबल हुने गरी संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
युनियनका पूर्व अध्यक्ष एवं प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले संविधान संशोधनको बहसलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
युनियनका अध्यक्ष शिव लम्सालले संविधानमा प्रेससम्बन्धी व्यवस्था संशोधनका लागि युनियनले बहस सुरु गरेको जानकारी दिनुहुँदै यसलाई जिल्ला जिल्लामा लगिने बताउनुभयो ।
कार्यक्रममा युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल लगायतले संविधान संशोधन गर्दा प्रेस स्वतन्त्रतासम्बन्धी सबल व्यवस्थाका लागि युनियनले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्