बारामा ६० प्रतिशत धान रोपाई सम्पन्न
बारा । बारामा किसानहरुले अहिलेसम्म ४६ हजार २० हेक्टर क्षेत्रफलमा बर्षे धान भदैया अगहनी धान रोपाई कार्य गर्ने लक्ष्य लिए पनि हालसम्म ६० प्रतिशत मात्र रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
असारको दोस्रो सातादेखि पानी पर्न थालेपछि किसानहरुले मजदुरको अभावमा भ्याई नभ्याई रुपमा धान रोपाई कार्य व्यस्त रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारयण प्रसाद साहले जानकारी दिनुभयो ।
किसानहरुले लिएको लक्ष्य अनुरुप अहिले सम्ममा बर्षे धान भदैया ११ हजार ९ सय क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४, र राधा ४ जातको धान रोपाई भएको छ भने अगहनी धान ३४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा सोना मंसुली, स्वर्णसवा १, सादा मंसुली, राधा ११, ९, ४ जातका धान रोपाई गरि ६० प्रतिशतले २७ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाई कार्य भएको ज्ञानकेन्द्रका प्रमुख साहले बताउनुभयो ।
भदैया धान असारसम्म सम्पन्न हुने तथा अगहनी धान साउनसम्म रोपाई जारी रहने कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी रामजिवन ठाकुरले बताउनुभयो । यस बर्ष धान रोपाई कार्य समयमा नै सम्पन्न हुने भएको हुँदा उत्पादनमा भने कमी नआउने प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।
गत बर्ष बर्षे धान भदैया र अगहनी गरि कुल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरी १ लाख ९१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्