तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका १६ विद्यालयको एसइईमा शून्य नतिजा

बाँके । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा यस पटक बाँके जिल्ला कमजोर बनेको छ । यस वर्षको सार्वजनिक भएको एसइईको नतिजामा बाँके कमजोर पाइएपछि सरोकारवाला चिन्तित बनेका छन् ।

एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेको बाँकेमा १०१ वटा सामुदायिक र ९७ वटा निजी विद्यालय गरी १९८ वटा माध्यमिक विद्यालय छन् ।

शिक्षा र स्वास्थ्यको हबका रुपमा परिचित बाँकेका १६ वटा विद्यालयले एसइई परीक्षामा एक जना पनि विद्यार्थी उत्रिर्ण गराउन सकेनन् । जसमा १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालय छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले नै चलाइरहेको नेपालगन्ज कन्या माविले पनि एक जना पनि विद्यार्थी उत्रिर्ण गराउन सकेन । बाँकेका १० वटा विद्यालयले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । सत प्रतिशत नतिजा ल्याउने सबै संस्थागत विद्यालयहरू छन् ।

सामुदायिकतर्फ सबैभन्दा राम्रो नतिजा ल्याउने खजुरा गाउँपालिकाको जनता मावि सन्तकुटी विद्यालय नै राम्रो नतिजा क्रममा १८औँ नम्बरमा छ । उक्त विद्यालयमा ९४ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै सत प्रतिशत नतिजा ल्याउने १० विद्यालय छन् । ती सबै विद्यालय भने संस्थागत विद्यालय हुन् । १० वटा विद्यालयमा एक जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ ईश्वरी मावि एच गाउँबाट सबैभन्दा बढी ८०.६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।

यस पटक एसइईमा शून्य नजिता ल्याउने सामुदायिक विद्यालयहरूमा जानकी मावि खजुराखुर्द १६ जना, महाराजा मावि नेपालगन्ज ५८ जना, अनाथालय मावि गौसिया नेपालगन्ज १२ जना, जनता मावि कोहलपुर ३४ जना, सिद्धेश्वर मावि लौकी राप्तीसोनारी २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यस्तै सरस्वती मावि पनेरिया ३४ जना, नेरामावि गोधहना खजुरा ३१ जना, नेरामावि भाटनपुर्वा २४ जना, नेरामावि नेउलापुर २६ जना, नेपालगन्ज कन्या स्कुल ३८ जना, आयशा मदरशा तुल बनत २६ जना र मावि जोगागाउँ १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यसैगरी एसइईमा शून्य नतिजा ल्याउने संस्थागत तर्फका विद्यालयमा चन्द्रमेवालाल इङ्लिस मिडियम स्कुल रानीतलाउ ११ जना, सिटी पब्लिक हाई स्कुल नेपालगन्ज ७ जना, फ्लोरिडा एकेडेमी ५ जना र एभरेष्ट सैनिक आवासीय मावि कोहलपुर १६ जना परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button