लोकतन्त्रका लाभ सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ ।
जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधानतः सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले जनजाति समुदायको सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि मातृभाषाको संरक्षणसहितको आदिवासी जनजाति लक्षित खुला र जीवन्त सङ्ग्रहालय र नमुना सांस्कृतिक सम्पदा संरक्षण र विकास गर्न जरुरी बताउनुभयो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जाति, भाषा, धर्म, संस्कार संस्कृति, साहित्य र समाज विकासमा प्रोत्साहन गर्दै आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता र गणतन्त्रको स्थापनापश्चात् नेपालमा पहिलो चोटि आदिवासी जनजातिको पहिचानलाई संस्थागत गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्