दूध तथा दूधजन्य पदार्थ उत्पादन गर्ने किसानहरूको समस्यालाई तत्काल समाधान गर्न माग
एमालेकाे उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा १५ बुँदे ध्यानाकर्षण पत्र पेश
काठमाडौँ । नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहसमक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा विभागका अध्यक्ष एवं पोलिटब्युरो सदस्य जितु गौतमले १५ बुँदे मागहरू राख्दै कार्यान्वयनका लागि मन्त्री साहको ध्यानाकर्षण गराउनुभयो ।
एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले बुझाएको ध्यानाकर्षण पत्रमा दूध तथा दूधजन्य पदार्थ उत्पादन गर्ने किसानहरूको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, कृषि सहकारी संस्थामार्फत हुनेगरी पालिकास्तरमा एक गोदाम घरको व्यवस्था हुनुपर्ने, रासायनिक मल खादको अनुदान किसानको बैङ्क खातामा पठाउने व्यवस्था गर्नुपर्ने, भूमि बैङ्कको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने लगायतका माग उल्लेख छ ।
यसैगरी, नेकपा एमाले उपभोक्ता हित संरक्षण विभागका अध्यक्ष गौतमले मन्त्री साहको ध्यानाकर्षण गराउँदै पशु तथा बाली विमाको प्रबन्ध गरिनुपर्ने, कृषि सहकारी बजार व्यवस्था गर्नुपर्ने, हिमाली भेगका जडीबुटी र फलफूललाई व्यावसायिक रुपमा उत्पादन र बिक्री वितरण गरिनुपर्ने लगायतका माग राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्