वीरगंजमा रेडियो नेपाल बहस कार्यक्रम
युवा स्वरोजगारलाई अगाडी बढाउनु पर्नेमा वक्ताहरूको जोड

वीरगंज । बीरगंज महानगरपालिकाले सरसफाई, सौन्दर्यीकरण सँगसँगै गरिबी निवारण र युवा स्वरोजगार कार्यक्रमलाई एक साथ अगाडी बढाउनु पर्ने कुरामा वक्ताहरूले जोड दिनुभएका छन् ।
रेडियो नेपालद्वारा आज वीरगंज महानगरपालिका वडा नम्बर-५ मा आयोजित बहस कार्यक्रममा वक्ताहरूले भौतिक विकास सँगै सामाजिक विकासलाई समेत सँगसँगै अगाडी बढाउनु पर्ने धारणा राखेका छन् ।

बहस कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले ५नम्बर वडालाई स्मार्ट वडा घोषणा गरिएको र वडाका सम्पूर्ण समस्यालाई एकिकृत रुपमा समाधान गर्दै वडा नेतृत्व अगाडी बढेको दाबी गर्नु भयो । उहाँले वडाको सरसफाई, सडक, ढल नलको व्यवस्थापन सँगै महिला तथा युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै वडावासीको माग अनुरुप खानेपानी, स्वास्थ्य, शिक्षा, लगायतका आधारभूत आवश्यकता पुरा गर्ने कार्यमा आफूहरू जुटेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य मन्जु दाहालले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र सहज रुपमा उपलब्ध गराउन महानगरपालिका र सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनु पर्ने कुरामा जोड दिदैै वृद्ध वृद्धा, असक्त, अपाङ्गहरूलाई राज्यले थप सुविधा दिनु पर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी वडा सदस्य मनोज कुमार साहले स्मार्ट वडाको लक्ष्य अनुरुप आफूहरूले वडालाई प्रविधिमैत्री बनाउँदै गएको बताउनु भयो ।

कार्यक्रममा वडा सचिव अरुण कुमार बस्नेतले वडाबाट प्रदान गरिने सिफारिस, मृत्यु दर्ता, जन्मदर्ता, नाता प्रमाणित लगायतका सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै जनप्रतिनिधि र कर्मचारी बिच कुनै विवाद नरहेको स्पष्ट पार्नु भयो । त्यसैगरी बहस कार्यक्रममा सहभागी स्थानीय समाजसेवी एवं शिक्षाविद् केशव भण्डारीले खानेपानीको व्यवस्थापन र बिजुली तथा इन्टरनेट टेलिफोनको तार अन्डरग्राउन्ड गरी वडाको सौन्दर्यीकरण गर्नु पर्ने कुरामा जोड दिनुभयो । सो अवसरमा सृजनशील आमा समूहकी सदस्य सरिता वर्णवालले महानगरले प्रदान गरेको सेवा सुविधा सन्तोषजनक रहेको टिप्पणी गर्नु भयो ।
बहस कार्यक्रममा स्थानीय युवा सुबोध कुमार वर्णवालले युवा स्वरोजगार कार्यक्रमका साथै खेलकुदको क्षेत्रमा महानगरपालिकाले लगानी थप गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको सहजिकरण रेडियो नेपालका वीरगंज सम्वाददाता ध्रुव अधिकारीले गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्