तपाईँ सुन्दै हुनुहुन्छः

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकोले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ भने पूर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ। यस्तै पूर्वी पहाडी भू-भागका थोरै स्थानकासाथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले पश्चिमी वायुको प्रभावका कारण मौसम खुल्ने र वर्षा हुने क्रम सोमबारसम्मै जारी रहने बताएको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button