विराटनगरको ६ लेन सडकमा डिभाइडर सौन्दर्यीकरण अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले वरगाछी–रानी डिभाइडर सौन्दर्यीकरण अभियान शुरु गरेको छ । महानगरपालिकालाई स्वच्छ, हराभरा र सुन्दर बनाउन यो अभियान सुरु गरिएको हो ।
वरगाछी देखि रानी सम्मको ६ लेन सडकको डिभाइडरमा फुल लगायत विभिन्न प्रजातीको बिरुवा रोपेर विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की तथा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले आज बिहान अभियानको शुभारम्भ गर्नुभएकाे हाे । विराटनगर महानगरपालिका र विराटनगरका विभिन्न बैँकर्सहरुकाे सहयोगमा अभियान सुरु गरिएको हो । अभियानमा कुल ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।
विरानटरको वरगाछी देखि रानी सम्मका सिक्सलेनको विचमा पर्ने करिब ५ किलोमिटर डिभाइडरमा वृक्षारोपण सुरु गरिको हो । सो डिभाइडरमा ४६ सय बिरुवा रोपिने जनाइएको छ । रानी–विराटनगर–इटहरी–धरान सिक्सलेन सडकका बिच भागमा फुल लगायतका बिरुवा रोपिनेगरि डिभाइडर निमार्ण गरिएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरलाई स्वच्छ तथा हराभरा बनाउन अभियान शुरु गरिएकाले रोपिएको बिरुवाको रेखदेख तथा हुर्काउने दायित्व पनि महानगरवासीको रहेको बताउनुभयो ।
महानगरपालिका एक्लैले सबै काम गर्न नसक्ने भएकाले आफ्नो पसल तथा घर अगाडीको बिरुवाको रेखदेख गर्न महानगरवासीलाई उहाँले आग्रह गर्नुभयो । विराटनगर महानगरपालिकाले शुरु गरेको अभियानमा उद्योगी, व्यवसायी लगायत विभिन्न सङ्घसंस्थाले समेत सहकार्य गरिरहेका छन् । विराटनगर वरगाछी–रानी डिभाइडर सौन्दर्यीकरण समितिका संयोजक समेत रहन भएका उद्योगी एवं समाजसेवी वेनीगोपाल मुदडाले यो सफल बनाउन सके विराटनगर सफा र ग्रिन सहरको रुपमा विकास हुने बताउनुभयो ।
विराटनगरको घासचौकवाट बिरुवा रोपेर अभियानको शुरुआत भएको हो । यो अभियान आगामी एकवर्ष सम्म सञ्चालन हुने समितिका संयोजक मुदडाले बताउनु भयाे।








प्रतिक्रिया राख्नुहोस्