तपाईँ सुन्दै हुनुहुन्छः

सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताउनुभएको छ ।

‘पछिल्लो सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्य मुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उहाँले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत तथा कानुनी प्रबन्ध मिलाउनाका साथै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम भएको जानकारी दिनुभयो । उहाँले अध्यागमन प्रशासनमा देखिएका समस्या समाधान गर्दै आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिइने अध्यागमनका कर्मचारीको पहिचानका लागि एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको बहुआयामिक प्रयोगको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “राष्ट्रिय परिचयपत्रलाई ‘गेम चेन्जर’ कार्यक्रमका रुपमा अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “विभिन्न निकायसँग अन्तर आबद्धता गरिएको छ, यसबाट सुशासन र नागरिक सेवामा ठूलो परिवर्तन आउनेछ ।”

उपप्रधानमन्त्री लामिछानेले गृह प्रशासनलाई नागरिकमैत्री बनाउने उद्देश्यका साथ सिंहदरबारमा नागरिकको सहज पहुँचको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “सिंहदरबार सबै नागरिकका लागि खुला छ, सिंहदरबार पहुँचवालाको मात्र होइन, यहाँ सबै नागरिकको सहजै पहुँचको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “आवश्यक काम परेका बेला अनलाइनबाट पास लिएर सहजै सिंहदरबार प्रवेश गर्न सकिनेछ ।”

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले यसअवधिमा गृह प्रशासन सुधारका कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले नीतिगत तथा कानुनी सुधार थालिएको र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै लगिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button