प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ

काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ भएको छ ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल जारी रहेको छ ।
छलफलमा सांसदहरूले आवश्यकता अनुसारको बजेट विनियोजन हुन नसकेको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरू बढिरहेको अवस्थामा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने र युवाहरूलाई देशमै रोक्ने खालका विशेष योजनाहरू ल्याउनुपर्ने बताउनुभयो ।
सांसदहरूले कृषिमा वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने र बजेटले आम किसानलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरूले १६औँ पञ्चवर्षीय योजना र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटबिच तादम्यता नमिलेको पनि बताउनुभयो ।
सांसदहरूले विद्यालय शिक्षाको गुणस्तर बढाउने गरि बजेट विनियोजन गर्नुपर्ने, विद्यालय शिक्षा आवासीय विद्यालयको अवधारणामा जानुपर्ने भन्दै बजेटले ती विषय समेट्न नसकेको बताउनुभयो ।
कृषि मन्त्रालयसँग सम्बन्धित बजेट सन्तुलित रुपमा विनियोजन हुन नसकेको, प्राङ्गारिक मल उत्पादनमा ध्यान जान नसकेको, कृषि बिमा र अनुदानलाई प्रतिफल दिनेखालको बनाउन नसकिएको बताउनुभयो ।
विनियोजन विधेयकमाथि सांसद प्रेम सुवाल, सांसद अमरेश कुमार सिंह, पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्याल र सञ्जय कुमार गौतमले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
आजको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको विषयसँग छलफल कार्यसूचीमा रहेको भएपनि मन्त्री विराज भक्त श्रेष्ठ अनुपस्थित रहेको विषयमा सांसद रामहरि खतिवडाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभएको थियो ।
यसैबीच, सभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्