तपाईँ सुन्दै हुनुहुन्छः

सफा हिमाल अभियान : पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ ।  

सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिनुभयो । 

कुहिने फोहरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ । नकुहिने फोहरलाई काठमाडौँ ल्याई पुनः प्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ । यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिकटन फोहर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । 

सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प–३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिपञ्जर सङ्कलन गरेको छ । सङ्कलित मानवशव तथा अस्थिपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ । 

हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो । ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिपञ्जर सङ्कलन गरिएको हो । यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो । 

आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहर तथा शव सङ्कलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ । 

सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव छ मेट्रिकटन फोहर र चारवटा शव सङ्कलन गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिकटन फोहर, चारवटा शव र एकवटा अस्थिपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमलव आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको थियो ।  सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिकटन फोहर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ । 

विश्व वातावरण दिवसका अवसर पारेर सेनाले आज जङ्गी अड्डामा विशेष कार्यक्रम गरी यस वर्ष सञ्चालन गरिएको सफा हिमाल अभियानको समापन गरेको छ । अभियानको समापन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सफाइ अभियान सञ्चालन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताउनुभयो । सरकारले सफा हिमाल अभियानको मुख्य भूमिका सेनालाई प्रदान गरेको भए पनि सबैको संयुक्त प्रयासबाट अभियान सम्भव भएको उहाँले बताउनुभयो । “सेनाको एक्लो प्रयासबाट मात्रै यस्ता अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिँदैन, यो सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ”, उहाँले भन्नुभयो, “अभियानमा सरकार, स्थानीय जनता र यसप्रति सचेतना ल्याउन क्रियाशील विभिन्न निकायका महत्वपूर्ण भूमिका रहेको छ ।”

प्रधानसेनापति शर्माले प्रतिकूल मौसम तथा विषम् परिस्थितिका बाबजुद उक्त अभियानका क्रममा सङ्कलन गरिएका फोहर, बेवारिसे शव र अस्थिपञ्जर आफैँमा महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सरकारले दिएको जिम्मेवारी तथा सेनाले लिएको लक्ष्य पूरा गर्न सफाइ टोलीले देखाएको तत्परताको उहाँले सरहाना गर्नुभयो । “यो सुरुआत मात्रै हो, अभियान सञ्चालनपूर्व र पश्चात् भएका केही उपलब्धिले अन्तर्राष्ट्रियरूपमा नेपालले प्रकृति तथा पर्यावरण संरक्षणमा जनाएको प्रतिबद्धता पनि इङ्गित गरेको छ, यो नेपालीका लागि गर्वको विषय हो”, प्रधानसेनापति शर्माले भन्नुभयो । 

नेपाली सेना छ दशकदेखि प्रकृति र पर्यावरण संरक्षण लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिइएको प्रधानसेनापति शर्माले जानकारी दिनुभयो । “संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाएको उदाहरण विरलै छ, यो हामीले गर्व गर्ने विषय हो । यो उदाहरणीय ‘मोडल’ हो”, उहाँले भन्नुभयो । उच्च हिमाली क्षेत्रमा घट्न सक्ने विपद् तथा अन्य अवस्थामा परिचालित हुन सफा हिमाल अभियानले सेनालाई प्रशिक्षणसमेत दिएको उहाँको भनाइ छ । उक्त साहसिक कदमको उच्च कदर गर्दै प्रधानसेनापति शर्माले अभियानमा सहभागिताका लागि अग्रसर हुने सैनिक तथा गैरसैनिक व्यक्तिलाई बधाई ज्ञापन गर्नुभयो । 

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुङ्गानाले सफा हिमाल अभियानको पाँचौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आभार प्रकट गर्नुभयो । उहाँले विश्व समुदायले भोगिरहेको जलवायु परिवर्तन र जैविक विविधताको ह्रासलगायत सङ्कटसँग जुध्नुपर्ने अवस्थामा हिमालको फोहरमैला हटाउने अभियानलाई विश्व समुदायले नजिकबाट नियालिरहेको बताउनुभयो । 

समारोहमा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, रक्षा सचिव किरणराज शर्मा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, हिमाल आरोहणसँग सम्बन्धित संस्था र सगरमाथा क्षेत्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button