तपाईँ सुन्दै हुनुहुन्छः

ज्ञान र अनुदान पाएपछि व्यावसायिक कृषितर्फ महिलाहरूको आकर्षण

विराटनगर । सरकारी निकायबाट विभिन्न अनुदान पाउन थालेपछि मोरङका महिलाहरू व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । कृषि ज्ञान केन्द्रले कृषि व्यवसाय सञ्चालनका लागि अनुदान दिन थालेपछि कृषि व्यवसायप्रति महिलाहरूको आकर्षण बढेको हो ।

तालिमसँगै अनुदान पाएपछि मोरङ कानेपोखरी गाउँपालिका–१, होक्लाबारीका रुजा बस्नेतले व्यावसायिक रुपमा च्याउ खेती तथा मौरीपालन गर्दै आउनुभएको छ । अनुदान पाएपछि उहाँले अहिले पाँच वटा टनेलमा च्याउ खेती तथा ३० वटा घारमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक १३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

आठ वर्षअघि डेढ बिघा खेतमा धान तोरी तथा मुसुरो लगाउँदा सोचेजस्तो आम्दानी नभएपछि घरमा त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच उहाँमा जागेर आयो । त्यसपछि कृषि व्यवसायसम्बन्धी तालिम लिएर महिला उद्यमी बन्ने रहरमा उहाँले २०७३ सालमा एसिका कृषि फर्म दर्ता गरी च्याउ खेती तथा मौरीपालन शुरु गर्नुभयो ।

फर्म सञ्चालनमा आएपछि ज्ञानकेन्द्र तथा प्रदेश र स्थानीय सरकारले उहाँलाई च्याउ पकाउने भाँडो, बीउ लगायतका सहयोग उपलब्ध गराएको छ । अनुदान पाएपछि व्यवसाय गर्ने हौसला पाउनुभएकी बस्नेतले लगन र परिश्रम गर्न सके स्वदेशमै केही सकिने अनुभव पाएको बताउनुभयो । महिलाहरूलाई तालिम र सिप प्रदान गर्न सके धेरै महिलाहरू स्वरोजगार र आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले मागमा आधारित अनुदान क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गरेपछि मोरङ जिल्लामा मौरीपालन, च्याउ खेती साथै मकै, चैतेधान, जुट, अलैँची तथा कफी खेतीको क्षेत्रफल विस्तार हुन थालेको कार्यालय प्रमुख रामदेव सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button