साउनदेखि बीमा क्षेत्रमा प्रविधिको प्रयोगलाई कडाइका साथ लागू गरिने

काठमाडौँ । नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले साउनदेखि बीमा क्षेत्रमा प्रविधिको प्रयोगलाई कडाइका साथ लागू गरिने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित जीवन बीमा कम्पनीहरूका कर्मचारी र अभिकर्ताहरूको सहभागी कार्यक्रममा बीमा प्राधिकरण अध्यक्ष सिलवालले साउन १ गतेपछि बीमा कम्पनीहरूका कागजी प्रक्रिया रोकेर प्रविधिमा आधारित बनाइने जानकारी दिनुभयो ।
अध्यक्ष सिलवालले अन्य क्षेत्रमा जस्तो बिमाका क्षेत्रमा प्रविधिको प्रयोग सोचेजस्तो नभएको भन्दै साउनदेखि प्रविधिको प्रयोगलाई कडाइका साथ लागू गरिने बताउनुभयो ।
प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले अभिकर्तालाई सक्षम बनाउनुपर्ने बताउँदै क्षमता अभिवृद्धि तालिमले बिमा क्षेत्रमा रूपान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मानिसको विचारमा र व्यवहारमा परिवर्तन आएको बताउँदै बीमाको पहुँच अभिवृद्धिका लागि बीमा सचेतनामा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल इन्स्युरेन्स एसोसिएसन अध्यक्ष चङ्की क्षेत्रीले इन्स्युरेन्सको पहुँच वृद्धि गर्न जनचेतनाका कार्यक्रममा जोड दिएर यसको महत्व बुझाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले हरेक कम्पनीले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धिलाई जोड दिँदै बिमाको पहुँच नपुगेको क्षेत्रमा जानु पर्ने बताउनुभयो ।
जीवन विमक संघका अध्यक्ष पोशक राज पौडेलले बेला बेला आयोजना हुने क्षमता अभिवृद्धि तालिमले अभिकर्तामा बिक्री सीप बढ्ने बताउनुभयो ।
अध्यक्ष पौडेलले जीवन बीमा कम्पनीहरूका तीन लाखभन्दा बढी अभिकर्तामा आएको ऊर्जाले मन्दीको समयमा यसले मुलुकको रूपान्तरणमा सहयोग पुर्याउने बताउनुभयो ।
माइक्रो इन्सुरेन्स एसोसिएसन नेपालका अध्यक्ष चिरायु भण्डारीले बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि तालिमले बिमा प्राधिकरणले बिमाको पहुँच बढाउने लक्ष्य पूरा गर्नमा सहयोग पुर्याउने बताउनुभयो ।
अध्यक्ष भण्डारीले डिजिटल प्रविधिको प्रयोगले बिमा व्यवसायलाई पनि सहज बनाउने भएकाले यसको प्रयोगलाई जोड दिनुपर्ने बताउनुभयो ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका महासचिव ओम बहादुर केसीले बिमाको पहुँच अभिवृद्धि गर्न अभिकर्ताको क्षमता बढाउनुपर्ने विषयलाई कम्पनीहरूले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
महासचिव केसीले हरेक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको भन्दै बीमा क्षेत्रमा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्