हावाहुरीबाट एक जनाको मृत्यु, १० घाइते, लाखौँको क्षति
वीरगञ्ज । पर्सामा गएराति वर्षासँगै आएको हावाहुरीले गर्दा १ सय ७ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण एनसेलको टावर तथा रुख ढलेर च्यापिदा १० जना घाइते भएका छन् । पर्साको विन्दवासिनी गाउँपालिका–२ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १ सय ७ वर्षीय ज्येष्ठ नागरिक गुदेरी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै हावाहुरीकै कारण पर्साकै बहुदरमाई नगरपालिका–५ मा रहेको एनसेलको टावर ढल्दा च्यापिएर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस्तै बहुदरमाई नगरपालिका–५ मै हावाहुरीले घरमाथि रुख ढल्दा च्यापिएर ९ जना घाइते भएका छन् ।

हावाहुरीका कारण ठोरी गाउँपालिका–५ गडुवा लाइनको वरको रुख ढलेको छ । सुवर्णपुर क्षेत्रकै पवित्र तीर्थस्थल समेत रहेको सो ठूलो वरको रुख ढल्दा रुखको छेउमा रहेको सेतीदेवी मन्दिर र मन्दिरसँगै रहेको पुजारीको कुटी क्षतविक्षत भएको छ ।
हावाहुरीका कारण ठोरीमा मात्रै करिब २० लाख बराबरको क्षति भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो वरको रुख करिब ८० वर्ष पुरानो रहेको स्थानीयले बताएका छन् ।
गडुवा लाइन लगायत वरपरका स्थानीयबासीले धार्मिक कार्यमा पुज्ने गरेको सो रुखको ऐतिहासिक महत्व रहेको गडुवा लाइन निवासी युवा समाजसेवी विमल खड्काले बताउनुभयो ।
यसैगरी हावाहुरीका कारण वीरगन्जसहित पर्साका १४ वटै पालिकामा फलफूल तथा तरकारी खेतीमा लाखौँको क्षति पुगेको छ । विशेष गरी आँप र लिचीमा ठूलो क्षति पुगेको किसानहरुले बताएका छन् ।
पर्सामा हावाहुरीका कारण झण्डै ५ सय बढी कच्ची घर क्षतिग्रस्त भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्