अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीको तयारी पुरा, भोलिदेखि प्रदर्शनी शुरु

चितवन । चितवन एक्स्पो सेन्टर भरतपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी शुरु हुँदै छ । नेपाल पोल्ट्री महासङ्घ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी जेठ २० गतेसम्म सञ्चालन हुने छ ।
आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसको तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले अन्तर्राष्ट्रिय बजार पोल्ट्रीमा भित्रिएका नवीनतम प्रविधि र यन्त्र उपकरण नेपालमै देखाउने उद्देश्य सहित प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका उद्यमी, स्थापित व्यवसायी, क्षेत्रगत पेसाकर्मी एवम् समग्र किसान वर्गको प्रत्यक्ष संलग्नता रहने छन् ।
प्रदर्शनीसँगै पोल्ट्री व्यवसायका नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत हुने उहाँले बताउनु भयो । ‘नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशहरूमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरू नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासङ्घले नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागेको हो’, महासङ्घका अध्यक्ष विष्टले भन्नुभयो ।
महासङ्घका उपाध्यक्ष टीका पोख्रेलले कोरोना कहरपछि झण्डै ४ वर्षको अन्तरालमा प्रदर्शनी आयोजना गरिएको भन्दै धराशायी बन्दै गएको पोल्ट्री उद्योगलाई उकास्न मदत पुग्ने बताउनु भयो । पछिल्लो समय पोल्ट्री व्यवसायी विस्थापित हुँदा कुखुराको मासु र अण्डा उत्पादनमा ह्रास आएको उहाँको भनाई थियो । ’धेरै वर्षपछि किसानले अण्डा र कुखुराको मूल्य पाएका छन्, उहाँले भन्नुभयो, यो प्रदर्शनीले किसानलाई आकर्षण गर्ने कुरामा विश्वस्त छौँ ।’प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरू रहनेछन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित कम्पनीहरूको स्टल रहनेछ ।
प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीमा देशभर गरी २० हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्