बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै
काठमाडौँ । आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ शुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको शुरुवात गर्ने भएको हो ।

देशको सातै वटा प्रदेशमा आयोजना गरिने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने कार्यक्रम रहेको छ ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्द्धन मुख्य उद्देश्य राखेको छ ।
प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा जेठ १७ गतेदेखि सुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
रोजगार मेलाले कामको खोजीमा रहेका युवा र रोजगारदाताका बीचमा मिलनबिन्दुका रुपमा सहजीकरण गर्दै सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा रहने विश्वास लिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा सञ्चालन हुने श्रमाधान रोजगार मेलामा करिब ५०० युवाले रोजगारी पाउने जानकारी दिनुभयो । मेलाको बारेमा जानकारी दिन मङ्गलवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको विराटनगरमा रोजगार मेलाको निकै ठूलो महत्व रहेको बताउनुभयो ।

‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, पारीका (भारतीय) कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौँ,’ अध्यक्ष राउतले भन्नुभयो, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’
यसैगरी श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले कोशी प्रदेशमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
उपसचिव आचार्यले मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात भएको बताउँदै अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने तयारी रहेको बताउनुभयो ।
आगामी वर्षदेखि सातै प्रदेश र पालिका स्तरमा पुग्ने गरी बजेट विनियोजन गर्ने मन्त्रालयको तयारी रहेको बताउँदै उपसचिव आचार्यले मेलापछि मन्त्रालयले रोजगार बैङ्क बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्याङ्क र क्षमताबारे स्पष्ट उल्लेख हुने जानकारी दिनभयो ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल संघ नेपाल लगायतका स्टल रहनेछन् ।
कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा आयोजना हुने दुई दिने मेलाका लागि उद्योगी व्यवसायी लगायतका ५० स्टल रहने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्