समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।
परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिनुभयो ।
समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उहाँले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताउनुभयो । परिषद्का पदाधिकारी तथा कर्मचारीहरू मिलेर काम गर्न निर्देशन दिँदै उहाँले एकले अर्काको सम्मान गर्दै अगाडि बढेमा संस्थालाई मर्यादित बनाउन सकिने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यहरू विधिसंम्मत् सहज रूपमा अगाडी बढाउन पदाधिकारी, कर्मचारीहरू एकजुट भएर अगाडी बढ्न समेत उहाँले निर्देशन दिनुभयो ।

पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन समेत ध्यानाकर्षण गराउनुभयो ।
पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीले कर्मचारी भनेको संस्थाको हातखुट्टा भएको भन्दै कर्मचारी र पदाधिकारीबिच एक आपसमा समन्वय भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने भन्दै संस्थाप्रति बाहिर बढेको गलत कुराहरूलाई निमिट्यान्न पार्नका निम्ति सबै लाग्न आग्रह गर्नुभयो ।
परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्