दाइजोरहित विवाह गर्ने जोडीलाई विवाह मण्डपमै सम्मान

वीरगन्ज । मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीले वीरगन्जमा दाइजोरहित विवाह गरेका नवविवाहित दुई जोडीलाई विवाह मण्डपमै पुगेर सम्मान गरेको छ ।
वीरगन्जको पानीटंकीस्थित डायमण्ड पार्टी प्यालेसमा शनिबार राति भइरहेको विवाह स्थलमै पुगेर बालविवाह एवं दाइजो उन्मूलन अभियानले नवविवाहित दुई दम्पतीलाई सम्मानित गरेको हो ।
बेहुला औरेन्जब अहमद र बेहुली निकात खातुन तथा बेहुला जावेद अहमद र बेहुली साहिन आरालाई मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, दाइजो उन्मूलन अभियान पर्साका संयोजक प्रकाश थारु सहितको टोलीले सम्मान गरेको हो ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ का औरेन्जेब अहमद र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ की निकात खातुन तथा औरेन्जेबका आफ्नै सहोदर भाइ जावेद र पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ की साहिन आराको शनिवार राति एउटै विवाह मण्डपबाट विवाह भएको थियो ।
दुवै दम्पतीले दाइजोरहित विवाह गरि समाजमा सकारात्मक सन्देश दिएकाले दुवै दम्पतीलाई सम्मानित गरिएको पूर्व मुख्यमन्त्री राउतले बताउनु भयो ।
बालविवाह एवं दाइजो उन्मूलन अभियानले दाइजोविरुद्ध चलाइरहेको देशव्यापी अभियान अन्तर्गत दाइजोरहित विवाह गर्दै आएका नवविवाहित दम्पतिहरुलाई सम्मानित गरेर दाइजोरहित विवाह गर्नका लागि युवायुवती र तीनका अभिभावकलाई उत्प्रेरित गर्दै आएको अभियानका संयोजक थारुले बताउनु भयो ।
दुवै बेहुलाका दाजु तबरेज अहमदले दाइजोकै कारण आफ्नो विवाहित बहिनीको केही बर्षअघि निर्मम हत्या भएपछि दाइजोले दिएको पिडाको भुक्तभोगी आफ्नो परिवार रहेको बताउँदै सो पिडालाई सम्झेर दुवै भाईको आफूले दाइजोरहित विवाह गरिदिएको बताउनु भयो ।
मधेसीमा अहिलेपनि दाइजोका कारण थुप्रै चेलीबेटीहरूले प्रताडना सहनु परेको, कतिपय चेलीबेटीले ज्यान नै गुमाउनु परेका घटनाहरू भइरहेका छन् । नवदम्पतिहरुलाई सम्मानित गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्