जनताले परिवर्तनको महसुस गर्न सकेनन् : नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको हो । “संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” उहाँले भन्नुभयो ।
नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेन्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा काँग्रेसले संसद् अवरोध गर्नुपरेको बताउनुभयो । संसदमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाई थियो ।
सम्पर्क समितिका सभापति दीपक उप्रेती, कांग्रेस नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, झापा कांग्रेसका सभापति देउमान थेबे लगायतले वर्तमान परिस्थितिसँग जुध्नका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्