बाँकेको खोकरीमा झाडापखाला फैलिँदा २९ जना बिरामी, सात गम्भीर
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खोकरीमा झाडापखाला फैलिएको छ ।
एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् भने सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । कुसुम स्वास्थ्य चौकी इन्चार्ज अमृत महतराका अनुसार खोकरीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार सुरु गरिएको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
पानी शुद्धीकरण गर्ने औषधि र पखाला रोगका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।
झाडापखाला लागेका बिरामीहरूको अवस्था अहिले बिस्तारै सुधार हुन थालेको र जिल्लाबाट समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली औषधिसहित तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्