प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कांग्रेस सांसदहरूले सहकारी प्रकरणमा संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गर्नुभएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म कुनै पनि संसदीय गतिविधि सञ्चालन हुन नदिने अडान लिएको छ
निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकको सुरुमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।
सांसद थापाले सरकार आफै वातावरण बिगार्न आएको र सरकारकै कारण अप्ठ्यारो सिर्जना भएकोले अब संसद्को कुनै पनि कामकारबाही अघि बढ्ने कुरामा कांग्रेसको साथ नरहने बताउनुभयो ।
सांसद थापाले गृहमन्त्रीले राजीनामा दिनु पर्दैन संसदीय छानबिन समिति गठन गरौँ भन्दा पनि सत्ता पक्षले नमानेको भन्दै सदन नचल्नुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्