तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना स्रष्टालाई सम्मान गर्दै

कास्की । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना स्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई  सम्मान अर्पण गर्न लागेको हो ।

यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका स्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका स्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट स्याङ्जाका स्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ  छन् । उहाँहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताउनु भयो ।

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतीक्षालाई  सम्मान गरिने भएको छ । उहाँलाई  नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ   र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ  सम्मान गरिने श्रेष्ठले जानकारी दिनु भयो ।  उहाँहरुलाइृ लाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले उहाँहरूलाई छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला,  कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहनु भएको थियो ।

सबै स्रष्टालाई यही वैशाख २९ गते शनिबार  दिउँसो २ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिने श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button