तपाईँ सुन्दै हुनुहुन्छः

रुसी सेनामा भर्ना भएका सबैलाई नेपाल फर्काइने : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेलायत र भारतबाहेकका सेनामा नेपालीलाई भर्ना हुने अनुमति नभए पनि विभिन्न देशका सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले कूटनीतिक प्रयत्न गरिरहेको बताउनुभएको छ । 

राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा रहेका नेपालीको सम्झौता खारेज गर्न रुस सरकारलाई आग्रह गरिसकिएको जानकारी गराउनुभयो । 

हमासको कब्जामा रहेका विपिन जोशीको मुक्तिका लागि विश्व शान्तिका लागि मध्यस्थता गरिरहेका मुलुकलाई समेत सरकारले अनुरोध गरेको जानकारी दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले केही समयभित्रै रुसी सेनामा भर्ती भएका सबै नेपालीलाई स्वदेश फर्काउन पहल गरिरहेको बताउनुभयो । 

सरकारले आर्थिक कूटनीतिलाई ध्यानमा राखेर वैदेशिक सम्बन्ध नयाँ ढङ्गबाट अघि बढाउन चाहेको बताउँदै मन्त्री श्रेष्ठले परराष्ट्रमा आर्थिक कूटनीति महाशाखा स्थापना गर्न लागेको पनि बैठकलाई जानकारी गराउनुभयो । 

बैठकमा समितिका सांसदहरुले वैदेशिक रोजगारीमा रहेका अरू मुलुकका कामदार र नेपाली कामदारलाई पारिश्रमिक विभेद गरेको विषय कूटनीतिक पहल मार्फत सरकारले समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

पछिल्लो समय स्थापना भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएको भन्दै सांसदहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीति कमजोर भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button