तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौँ । सरकारले जापानी परराष्ट्र मन्त्री कामिकावा योकोको आसन्न नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

जापानी परराष्ट्र मन्त्री योको पर्सि वैशाख २३ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

मन्त्रिपरिषद्को वैशाख १३ र २० गते बसेका बैठकको निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने एक सय मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय दरको बैङ्क नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नेपालको नयाँ चुच्चे नक्सा राख्ने गरी नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गरेको, भारतमा भइरहेको आम निर्वाचनको अवलोकनका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भोलिदेखि हुने भारत भ्रमण स्वीकृत गरेको पनि बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र स्पेनको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश २०५८ खारेज गर्ने र राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button