राप्तीसोनारीको बालापुर गाउँमा आगलागी, तीन वटा घर जलेर नष्ट

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुर गाउँमा आगलागी भएको छ ।
आज दिउँसो साढे १२ बजे बालापुरमा रहेको चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल नं.४२ रिजर्भ गणबाट डीएसपी देवबहादुर बोहराको नेतृत्वमा खटिएको १०५ जना टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

करिब दुई घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले आगो नियन्त्रणमा लिए पनि अन्दाजी ३० लाख रुपैयाँको क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
एक्कासी सल्किएको आगो नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना, घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । आगलागीमा एउटा भैँसी र ७ वटा भेडा पनि जलेका छन् ।







प्रतिक्रिया राख्नुहोस्