‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’
काठमाडौँ । लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरूले जोड दिनुभएको छ । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उहाँहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक सुनिता बरालले नेताहरूका जीवनशैली, व्यवहार र कामकारबाहीका आधारमा लोकतान्त्रिक अभ्यास मापन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सेवा प्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टीकाटिप्पणी भएको हो ।” देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धारणा राख्दै नेत्री बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले उच्च शिक्षा, दक्षता अभिवृद्धि र आर्थिक आयआर्जनका लागि विदेश गएपनि समाज र देशको प्रगति र उन्नतिका लागि स्वदेशमै पसिना बगाउनु पर्ने सुझाव दिनुभयो ।
त्यस अवसरमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राख्नुभयो । उहाँले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गर्नुभयो ।
नेता पौडेलले भन्नुभयो, “जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन ।”
प्राध्यापक डा पीताम्बर भण्डारीले लोकतान्त्रिक प्रणाली उच्चतम शासन व्यवस्था भएकाले प्रणालीमा नीति र नेतृत्व नैतिकताको कसीमा रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा लोकतन्त्रलाई सुदृढ तुल्याउने हो भने दलभित्रको सङ्क्रमण अन्त्य हुनुपर्छ ।”
समाजका अगुवाका रुपमा रहेका दलका नेता तथा कार्यकर्ता लोकतान्त्रिक मूल्य मान्यताको परिधिभित्र राख्न पर्नेमा जोड दिँदै राजनीतिमा विकृति रहेसम्म लोकतन्त्रका लागि सधैँ चुनौती खडा हुने विचार प्रकट गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्