बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द, १ सय ६५ खारेज
बाँके । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिनुभयो ।
उहाँले कार्यालयमा आएर आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको बताउनुभयो ।
उहाँका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका छन् ।
उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेको उहाँले बताउनुभयो ।
बाँकेमा गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ चार सय ३४ र वाणिज्यतर्फ तीन सय ७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारी जानकारीले दिनुभयो ।
बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका छ सय ३१ र वाणिज्य फार्म एक हजार एक सय ५० गरी एक हजार सात सय ८१ घरेलु तथा साना उद्योग नवीकरण भएका छन् ।
कोभिड–१९ को असर, बैङ्कको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्