एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक तथा पार्टी स्थापनाको हिरक जयन्ती समारोहको तयारी पुरा भएको जनाएको छ ।
एमालेले आज केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी भोली वैशाख ८ गतेदेखि सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक र वैशाख १० गते हुने पार्टीको हिरक जयन्ती समारोहको तयारी पुरा भएको जानकारी दिएको हो ।
ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा दुई दिनसम्म चल्ने परिषद् बैठकमा पार्टीका महाधिवेशन प्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने बैठकमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र निकायहरूले सम्पादन गरेका कामहरूको समीक्षा गरी आवश्यक निर्देशन दिने नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, कम्युनिष्ट पार्टी स्थापनाको हिरक जयन्तीका अवसरमा नेकपा एमालेले वैशाख १० गते विशेष समारोहको आयोजना गर्ने र सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख वक्ताका रूपमा रहनुहुने एमाले महासचिव पोखरेलले बताउनुभयो ।
एमाले महासचिव पोखरेलले पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक जिज्ञासामा नेकपा एमाले अहिलेको सरकारले निरन्तरता पाउनुपर्छ र देशको विकास, समृद्धि र स्थायित्वका लागि वामपन्थी शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा स्पष्ट रहेको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्