तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई मन्त्री पुनको आग्रह 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको काठमाडौँमा जारी ५८औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्नुभयो। 

मन्त्री पुनले मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिनुभएको  बताउनुभयो।  उहाँले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गर्नुभयो। 

लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्नुहुँदै मन्त्री पुनले कुनै पेशा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा समग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको बताउनुभयो । राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिनुहुँदै मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताउनुभयो । 

कानुनभित्र बसेर व्यवसाय प्रवद्र्धन गर्ने काम सरकारको भएको भन्नुहुँदै उहाँले राज्यलाई कर तिरेर नाफा कमाउन पाउने व्यवसायीको हक सुरक्षित रहेको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button