दुई बुँदे सहमतिसँगै मजदुरहरूको आन्दोलन स्थगित

वीरगञ्ज (पर्सा) । उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियनको अगुवाइमा मजदुरहरू काम छाडेर आन्दोलनमा उत्रेका थिए ।
आन्दोलनरत मजदुर युनियनका पदाधिकारी तथा उद्योग व्यवस्थापनबिच कामबाट हटाइएका मजदुरलाई पुनः बहाली गर्ने र मजदुर आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किने सहमति भएको छ । श्रमिकको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ मधेस प्रदेश इन्चार्ज माधव पाण्डे र उद्योगी कोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रोवायोटेक इण्ड्रष्ट्रिज लिमिटेडले श्रम ऐन, ०७४ को दफा १३१ (४) को (च) बमोजिम खराब आचरण गरेको भनी छ श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका पाँचजना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निष्कासित गरिएका ११ श्रमिकको पुनः बहालीको माग गर्दै अखिल नेपाल ट्रेड युनियन महासङ्घ निकट श्रमिकहरू आन्दोलनमा उत्रिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्