तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा रहेको जनक शिक्षाको छापाखाना डेढ दशकदेखि अलपत्र

बाँके । बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना डेढ दशकदेखि अलपत्र परेको छ।

साबिक मध्य र सुदूरपश्चिमका जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो। भएको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले पाँच नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पुर्‍याउन सकेको छैन।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो। त्यसपछि दुई करोड रुपैयाँको लागतमा थप दुईवटा भवन निर्माण गरियो। छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन अहिले प्रयोगविहीन छन्। छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताउनुभयो ।

उहाँले सरकारबाट बजेट पाए खजुरामा रहेको छापाखाना चलाउन सकिने उल्लेख गर्नुभयो । खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोमा कम खर्च र समयमै पाठ्यपुस्तक ढुवानी गर्न सकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार छापाखाना सञ्चालनका लागि विद्युत्लगायत सबै पूर्वाधार तयार भए पनि केन्द्रीय योजना नबनेका कारण सञ्चालन हुनसकेको छैन ।

जनक शिक्षाले काठमाडौँमा छापेका पाठ्यपुस्तक हरेक वर्ष नयाँ शैक्षिक सत्रमा लाखौँ रुपैयाँमा ढुवानी गरेर नेपालगन्ज ल्याउँछ। नेपालगन्जमा रहेको गोदामबाट केन्द्रले बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्युठान, पूर्वी रुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ। नेपालगन्जमै पाठ्यपुस्तक छपाइ गर्न सकिएमा लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सहज हुने क्षेत्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button