रेडियो नेपाल नेपाली प्रसारण सेवाको जननी : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा यसमा आबद्ध सञ्चारकर्मी, प्राविधिक, व्यवस्थापक लगायत रेडियो परिवार र समस्त श्रोता गणमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले रेडियो नेपाल नेपाली रेडियो प्रसारण सेवाको जननी भएको उल्लेख गर्नुभएको छ ।
२००७ सालको क्रान्तिको जगबाट स्थापित रेडियो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको साक्षी भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले रेडियो नेपाल २१ औँ शताब्दीको डिजिटल युग सुहाउने सूचना र सञ्चारको भरपर्दो माध्यम बन्नसक्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले स्थापित राष्ट्रिय प्रसारण सेवा रेडियो नेपालको प्रगतिलाई अझै उचाइमा पुर्याउन व्यवस्थापन पक्षलाई आग्रह गर्नुहुँदै रेडियो नेपालले सार्वजनिक प्रसारणको विशेषतालाई चरितार्थ गर्दै समसामयिक नवीनतम प्रविधि र समय सापेक्ष विषयवस्तुहरूको प्रयोगमार्फत डिजिटल प्रविधिको यथोचित प्रयोग गरी अब्बल प्रसारण संस्थाको रुपमा स्थापित हुन विश्वास व्यक्त गर्नुभएको छ ।









प्रतिक्रिया राख्नुहोस्