श्री एयरलाइन्सले नयाँ दुईवटा जहाज नेपालमा भित्र्यायो

काठमाडौँ । श्री एयरलाइन्सले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुईवटा जहाज नेपालमा भित्र्याएको छ । संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरू श्रीले नेपालमा ल्याएको हो । जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरूभन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावरयुक्त रहेको एयरलाइन्सले जनाएको छ ।
उक्त जहाजहरू श्री एयरलाइन्सका पाइलटहरूद्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करिब २५ घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् ।
कम्पनीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पूरा गरी उक्त विमानहरूबाट श्री एयरलाइन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरूमा उडान थप गरी भरपर्दो सेवा सुचारु रूपले सञ्चालन गर्दै जाने उल्लेख गरेको छ। सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो ।
सुरुमा काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलहरूमा र पर्वतीय उडानहरू नियमित रुपमा हवाई सेवा सञ्चालन गरेको थियो सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताको क्यानाडा निर्मित क्वी४०० ड्यास ८ विमानहरूबाट थप पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा मा समेत सेवा विस्तार गरिसकेको छ । यी दुई विमान सँगै श्री एयरलाइन्सका विमानहरूको सङ्ख्या १० पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्