तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल  निर्वाचित हुनुभएको छ । 

आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालको पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि दाहाल निर्वाचित हुनुभएको हो । दाहालको पक्षमा ३९ जना सांसदहरु मतदान गर्नुभयो । भने विपक्षमा  १७ मत परेको छ  ।

मतदानमा जम्मा ५६ जना सांसदको उपस्थिति रहेको थियो ।

बैठकमा सभाध्यक्ष उर्मिला अर्यालले दाहालको पक्षमा परेको मत राष्ट्रिय सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमत रहेको उल्लेख गर्दै राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गर्नुभयो ।

दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : प्रदीपराज वन्त/रासस

यसअघि बैठकमा राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो ।

शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्माको पक्षमा १७ मत परेको थियो ।

शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी  पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

बैठकमा यस अघि राष्ट्रियसभाको अध्यक्ष पदमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले देशको आवश्यकता अनुसार स्थिर राजनीति र सुशासनतर्फ जान नयाँ गठबन्धन गरिएको भन्दै साझा उम्मेदवारका रुपमा रहनु भएका दाहाललाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

दाहाललाई नेकपा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिदले राष्ट्रिय सभाको गरिमालाई अझैमाथि पु¥याउन दाहाले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ समर्थन गरेको बताउनुभयो । 

यसैगरी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले संसद्का काम कारबाहीलाई प्रभावकारी बनाउन राजनीतिमा लामो अनुभव भएका शर्मालाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

शर्मालाई कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंहले समर्थन गर्दै राष्ट्रिय सभाको गरिमा बढाउन अनुभवी व्यक्तिका रुपमा रहनु भएका शर्मालाई निर्वाचित गर्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ः०९ बजे बस्नेछ ।

नारायण दाहालकाे संक्षिप्त चिनारी

नाम                              नारायण प्रसाद दाहाल
जन्म मिति                   २०१२ फागुन १२
जन्म स्थान                  ढिकुरपोखरी, लेवाडे, कास्की
स्थायी ठेगाना               भरतपुर महानगरपालिका- १४, चितवन, (२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)
माता                            स्व. देउरुपा दाहाल
पिता                             स्व. कुलप्रसाद दाहाल
पत्नी                              दुर्गादेवी दाहाल
छोरी १, छोरा २, नातिनातिनी ६

शिक्षा

  • २०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर
  • २०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन
  • २०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन

राजनीतिक जिम्मेवारी

  • वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।
  • वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।
  • २०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)
  • २०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।
  • २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।
  • २०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।
  • २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।
  • २०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।
  • २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।
  • २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।
  • २०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।
  • २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।
  • २०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।
  • २०७७ सालमा नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष। 
  • २०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।

संसदीय यात्रा

  • २०६३ – अन्तरिम व्यवस्थापिका संसद सदस्य
  • २०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित
  • २०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)
  • २०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित

प्रतिक्रिया राख्नुहोस्

Back to top button